जुन बिनाका रातहरु

म मातिएर लड्दा उठाउने हातहरु
म आत्तिएर ढल्दा डोर्याउने साथहरु
किन ओईलाई झरे मनभित्रै अचेल
बिर्साउने गरि ति शरदका पातहरु

अल्झेकाछन् पाईला कतै
तर्किएको होईन
सुस्ताए होलान् नजर पनि
यात्रा बिर्सिएको त छैन
तर थप्दैछौ तिमी किन
गुनासाका झोलाहरु?
जब देखेकै छैनौ मैले तर्ने
पुल बिनाका खोलाहरु

 

(गोरेटो सिधा कहाँ हुन्छ सधैँ?
हिँड्न बाँकी छ अझ कयौँ
जुन बिनाका रातहरु)

 

Sunil Nepal
January 28, 2016

 

लखनलाल ठाकुर (२) – भित्री शहर

“कहाँ सिमेन्ट पर्सि मात्र झर्छ होला, अब अरु सामान नि केहि आ’छैन कसरि काम गर्नु ?” लखनलाल दाईले मेरो घाँटीमा कपाल काट्दा लगाउने लुगाको डोरी कस्दिदै थिए । एउटा मान्छे फोनमा चर्को स्वरमा कुरा गर्दै भित्र छिर्यो । अघिसम्म ऐनामा आफैँलाई हेरिरहेको मेरो आँखा त्यो मान्छेको आकृति हेर्न त्यहि ऐनाको अर्को छेउमा दौडियो । मैले उसको ढाडमात्र देखें । उ अर्को भिताको ऐनामा अलि निहुँरिएर हेर्दै एउटा हातले कपाल मिलाउन थालिसकेको थियो । अर्को हातमा फोन । म याद गर्छु, सैलुनमा प्राय मान्छे छिर्ने बित्तिकै पहिलो प्रश्न गर्छन्- “खाली छैन ?” र त्यसको उत्तर आउनुअघि ऐनामा हेर्दै आफ्नो कपाल हातले मिलाउन थाल्छन् । त्यो मानिस फोनमा ब्यस्त थियो सायद त्यसैले पहिलो प्रश्न नगरी दोस्रो बिन्दुमा पुग्यो । “अब नेपालमै बने’नि केमिकल त उतै’ड आउने हो । सबै बन्द छ त, होईन ?” । उसको स्वर झनै चर्को हुँदै थियो । मैले अनुमान गरें- सायद फोनको अर्को कुनाबाट तराईको नाकाबन्धिले नेपालको पहाडी भेगमा बन्ने सिमेन्ट काठमान्डू ल्याउन कसरी रोकियो भनेर सोधियो । उसको अनुहार समेत देखेको थिइन तर मलाई त्यो मान्छे मन परेन  । फोनमा चर्को स्वरमा कुरा गर्ने मान्छे मलाई मन पर्दैन ।

*******************

भुईचालो लगत्तै आफुले सधै कपाल काट्ने पसल बन्द हुँदा म यो पसल आएको थिएँ । करिब ३-४ महिना पहिले । त्यसपछि म फेरी त्यहि पुरानो सधैँ जाने गरेको पसल जान थालेँ । आज पनि त्यतै लम्कदैं गर्दा सडक पारीबाट यो पसल बाहिर कुर्सिमा बसिरहेको लखनलाल दाईलाई देखें, अनि पाइला यतै मोडियो । “दाई सन्चै ?” कुर्सिमा बसेर केहि सोचिरहेका उनी मेरो प्रश्नले थोरै झस्किए । “ठीकेई छु, तपाई के छ ?” मलाई मधेसी लवजमा नेपाली बोलेको बडा रमाइलो लाग्छ । “म पनि ठिकै छु । कपाल काट्नुपर्ने” । आज पसलमा अर्को एकजना पनि रहेछन् । लखनलाल दाई भन्दा झन्डै आधा उमेरका उनी अर्को ग्राहकको दारी काट्दै थिए । भित्तामा झुन्ड्याईएको प्रमाण पत्रको फोटोमा नजर पुगेपछि मलाई थाहा भयो उनी लखनलालका ज्वाई- राहुल रहेछन् । नाई संघको त्यो प्रमाणपत्रनै मेरा लागि उनीहरुको सम्बन्ध खुलाउने प्रमाण बनिदियो । कारण, अघिल्लो भेटमा उनले मलाई बताइसकेका थिए कि यो पसल उनको ज्वाईको हो । तैपनि उनको थर ठम्याउन सकिनँ मैले । आँखा अलिकति कमजोर भएर पनि चस्मा जो नलगाई हिंड्ने मान्छे हुँ । म कुनाको कुर्सिमा गएर बसेँ । कैंची, काँईयो र छुरा मेरो आगाडी ल्याएर राखे लखनलाल दाईले । त्यहि बिच अर्को एकजाना ग्राहक पनि थपिए । “खाली छैन?” “एकछिन बस्दै गर्नुस्, सकिनै लागेछ ।” लखनलाल दाईको भन्दा अलि थोरै मधेसी लवजमा उत्तर आइहाल्यो । मेरो खुट्टाकै छेउको दराजबाट रुमाल र अर्को कपडा झिकेर मेरो शरीर ढाक्ने गरि ओढाईदिँदा म खुसि भएँ किनकि आज अस्तिको पटक जस्तो ठुस्स गनाएन ।

*******************

“हैन तिम’हरले हाम्लाई खान नदिने भन्या?” सिमेन्टको कुरा गर्दै गरेको मान्छे कहाँबाट खाने कुरामा आइपुग्यो म अलमल्ल परें । “खै हजुर हामीलाई के था?” राहुलले जवाफ दिएपछि मैले चाल पाएँ, उनले फोन राखिसकेका रहेछन् । “यत्रो दिन भैसक्यो यार बन्द गरेर बस्या छौ, खोज्या के हो तिम’हरले?” मेरो आँखा फेरी ऐनाको त्यो कुनामा दौडियो जहाँ अघि मैले त्यो मानिसको ढाड देखेको थिएँ । निलो चेक सर्टको मुनिका केहि टाँकहरु सकीनसकी तन्किएर उनको भ्यात्त परेको भुँडी बाहिर आउनबाट रोक्दै थिए । फ्रेन्च कट दारी भएका उनी महानुभाब अघि आफैंले कपाल मिलाउन हेरेको ऐनामा अढेस लागेर उभिँदै रहेछन् । “खै हजुर, नेताहरुले के भन्छन्, हामीलाई के पता ?” लखनलाल दाई त बिहार, भारतका हुन् । उनका ज्वाई सायद यतैका थिए कि भन्ने अड्कल मात्र काटें मैले । उतैका भएपनि सायद ‘मलाई के थाहा, म थोडी नेपालको हुँ?’ भन्नु ठिक सम्झिएनन् उनले यो बेला । “मुलाहरु एउटा हद हुन्छ नि यार, यत्रो दिनसम्म नाका बन्द गर्ने ?” । यो पटक राहुलले कुनै जवाफ दिएनन् । मलाई त्यति सहज लागिरहेको थिएन । भर्खर दारी काटिदिएको मान्छेसँग पैसा लिँदै उनले अघि मसँगै छिरेको केटालाई कुर्सिमा बस्न इशारा गरे । उनि पनि कपालनै काट्न आएका रहेछन् ।

आज लखनलाल दाईसँग केहि पनि कुरा गरिन । पसलमा अरु ग्राहक हुँदा म प्राय: खासै कुराकानी गर्दिन । लखनलाल दाई पनि चुपचाप । “मान्छेको ठेक्का चौपट हुन लागिसक्यो । ताइ न तुइको डिमान्ड गरेर मान्छेलाई दु:ख देर ।” त्यसै पनि फोनमा चर्को बोल्ने मान्छे मन नपर्ने मलाई यो ठेकेदारको रवाफ देखेर झनक्क रिस उठ्यो । रिस त मलाई आफ्नै देशमाथि नाकाबन्धि गर्ने र सिमापार गएर यता ढुङ्गा बर्साउनेसँग पनि उठेकै हो । तर त्यो रिसको सनक देखाउने ठाउँ यो सैलुन र लखनलाल दाईहरु होइनन् भनेर थाहा थियो मलाई । मेरो टाउकोमा मसाज गर्दिदै गर्दा लखनलाल दाईको अनुहार हेरें । भुकम्प पछी भेट्दा उनको मुहारमा बरु जुन चमक थियो, त्यो आज थिएन ।

म कुर्सिबाट ओर्लिदैं गर्दा ठेकेदार फेरी बोल्यो- “हो कि होइन?” यसपाली लखनलाल दाईले उत्तर दिए- “खै हुजुर । अन्याय भएछ भन्छन् नेताहरु, हामीलाई त के थाहा?” मलाई केहि राहत अनुभब भयो उनले बोलेको सुन्दा । “भुत्रो हुन्छ अन्याय ? तिमीह’रलाई हाम्ले याँ गरेर खान दे’को छैन? मुजीहरु मन्त्री हुँदा सिन्को नभाँच्ने अनि कुर्सिबाट हट्ने बित्तिकै बडो अधिकारको कुरो” त्यो ठेकेदारको दोस्रो कुरामा म केहि सहमत भए पनि लखनलाल दाईसँग त्यसरी बोलेको मलाई एक रत्ति पनि चित्त बुझेको थिएन । मिल्ने भए गालामा पड्काईदिउँ झैँ झोक चलेको थियो । तर खै बोल्न पनि मन लागेन तिनीसँग । वा आँट आएन । ऐनामा हेरेर आँखा भने तरें । “सबै त्यस्तै त छन् हजुर ।” मनमा जे भए पनि लखनलाल दाईले सहज तरिकाले कुरो टुंग्याउने कोशिस गरे । “तिम’रु त्यस्तै नेताको पछी लागेर बस् ।” उ रोकिने वाला थिएन ।

पैसा दिएर म हिंड्न लाग्दा दाईले उनको गालाभरि शेभीङ क्रिम लगाइदिसकेका थिए । कुर्सि पछाडीको डन्डीमा टाउको अड्याएर दारी कटाउन ठेकेदार पनि तयार  थियो । लखनलाल दाईले नयाँ ब्लेड हालेको छुरा ठेकेदारको तिनिक्क तन्किएको घाँटी नजिकै लैजाँदै गर्दा म निस्किएँ ।

म ढुक्क थिएँ, त्यो दुष्ट आत्माको मुख जथाभाबी चलेजस्तै हाम्रो लखनलाल दाईको छुरा चल्दैन ।

सुनिल नेपाल
October 3, 2015

पहिलो भाग: लखनलाल ठाकुर – भित्री शहर

 

किशोर कथा- …र अन्त्यमा

‘सायद म अब तिमीसँग भेट्दिन होला’ । मैले आकासतिर थोरै टाउको उठाएर सानो स्वरमा अड्किदै भनें ।

‘मलाई थाहा छ ।’ किशोरको स्वरमा कम्पन थिएन, मनमा के सोच्दै थियो म भन्न सक्दिन । तर एउटा कुरा अलि अनौठो लाग्यो, अलि ननिको पनि । उसले प्राय: हरेक बाक्यमा मलाई दाई भनेर सम्बोधन गर्थ्यो, आज गरेन । हुन त मैले पनि भाई भन्न बिर्सेछु । आज भेट्ने बित्तिकै अब नभेट्ने कुरा गरें तैपनि उसले अचम्म मानेन । मेरो मनभित्र के चल्दै थियो सायद थाहा छ उसलाई ।

आज हामी छुट्टाछुट्टै टेबलमा बस्दै थियौँ । क्याफेमा म पहिला आइपुगें र भित्तामा अढेस लाग्न मिल्नेगरि कुनाको टेबलमा बसें । किशोर एकछिन पछी आइपुग्यो र छेउको अर्को टेबलमा बस्यो । हाँस्यो तर हात मिलाएन । उसले आफ्नो दुइटै हात पाइन्टको खल्तीबाट झिक्दा पनि झिकेन ।

‘म अब केहि समय बाहिर निस्किन्न’ । उसले अब नभेट्नुको मेरो कारण नसोधेपछी आफैँ एउटा बहाना बनाए । एकछिन अघि उसले सोधेको भए म अर्कै बहाना भन्थें होला वा एकछिन पछी अर्को । किनभने मसँग बास्तबिक कारण जो थिएन । भएपनि भन्न सक्दैनथें । म स्वार्थि, बिल्कुल स्वार्थि भएँ ।

‘थाहा छ दाई मलाई तपाईले सुरुमा किन भेट्नुभो, बिचमा किन अलि हराउनु भो र अहिले किन नभेट्ने कुरा गर्दैहुनुहुन्छ । मलाई सब थाहा छ’ । बल्ल दाई भन्यो उसले, तैपनि म मा उसलाई भाई भनेर बोलाउने तागत थिएन । किशोरलाई मैले करिब तिन-चार बर्ष अघि भेटेको थिएँ, अर्को कुनै क्याफेमा । म त्यहीं चिया खान जान्थें, उ चुरोट पिउन आउँथ्यो । मैले उसलाई चिया खान सिकाएँ, उसले मलाई चुरोट । सुरुमा सामान्य कुराकानी हुन थाल्यो अनि दुखसुखका । बिस्तारै हामी राम्रो साथिभाई भयौँ । जब जब एक्लो महसुश गर्थें म क्याफे जान्थेँ । म आउन लागेको थाहा पाए जसरि उ त्यहिँ हुन्थ्यो । मलाई देख्ने बित्तिकै दङ्ग परेर हात मिलाउँथ्यो अनि उसको हाउडे पारामा गफ लडाउन थाल्थ्यो । आज त्यसो केहि गरेन । चुपचाप बसिरह्यो ।

‘म केवल एक पात्र हुँ दाई, तपाईको कथाको । तपाईको ब्लग मैले पढ्ने गरेको छु । हाम्रो कुराकानीमा धेरथोर घुम्ने कथा पनि मैले पढेको छु । सायद तपाई अब त्यो कथा लेख्न छोड्दै हुनुहुन्छ ।’ दुई सासमा सबै कुरा ओकल्यो भाईले । ‘त्यस्तो होइन भाई’- मैले भनें । तर हो त्यस्तै थियो, ध्रुब सत्य त्यहि थियो । ‘म केहि समय कतै निस्कन चाहन्न, कसैलाई भेट्न मन छैन, कति समय मलाई थाहा छैन त्यहि भएर भनेको’ । मलाई यतिबेला राम्रो बहाना पनि बनाउँन आएन । तर किशोरले सबै बुझिसकेको न थियो, जुनसुकै बहाना फुस्रो हुन्थ्यो ।

आज उसले चुरोटमात्र मगायो, मैले चिया । म झल्याँस्स भएँ, यो त सुरुमा हाम्रो भेट हुँदाजस्तै भयो । बस्न पनि त हामी छुट्टाछुट्टै टेबमा बसेका थियौँ । जहाँबाट यो सबै सम्बन्ध सुरु भयो, घुमीफिरी हामी त्यहीं पुगेजस्तो । मेरो मनमा अनेकौँ प्रश्न डुल्न थाले । किशोर किन अर्को टेबलमा बसेको होला? सँगै बसेर पहिलेजस्तै हँसिमजाक गरेको भए सायद म उसलाई अब नभेट्ने कुरा भन्नै सक्दिनथिएँ कि । वा ‘ह्या दाई भेट्नुपर्छ, बुंगुरको सेकुवा खान जानै बाँकी छ दाजुभाई’ भनेको भए पनि त हुन्थ्यो । आगो मैले बालेको थिएँ, तर उसले घिउ थपिदियो झैं लाग्न थाल्यो । उसले घुर्कीमात्र लगाएको पनि त हुन सक्थ्यो । खै के हो के हो ?

‘ल दाई म जान्छु त्यसो भए’ । किशोर आफ्नो ठाउँबाट उठ्यो, मतिर हेरेर अलिकति हाँस्यो, र काउन्टरतिर गयो । ‘एकछिन बस सँगै जाउँला’ । उ केहि बोलेन, मेरो चियाको पनि पैसा तिर्यो र हिंड्न थाल्यो । मनमा केहि नरमाइलो लाग्ने बित्तिकै उसलाई भेट्न आनन्द लाग्थ्यो मलाई । मनका सबै कुरा त भन्दिन थिएँ तर उसको कुरा सुनेर हल्का महशुस गर्थें । ति सबै यादहरु आँखै अगाडी डुल्न थाले । सायद आँशुले अलिअलि आँखा पनि भिजे होलान् अगाडीको दृश्य धमिलो भयो । त्यसबीच सबै कुरा भुलेर ‘पख भाई, बिर्सिदेउ यो कुरा, दाजुभाई भेट्नुपर्छ सधैँ’ भन्न खोजेको थिएँ, घाँटीबाट बाहिर निस्कन सकेन । उ गयो, हात पनि नमिलाई । म त्यहीं बसिरहें । उ काठमाडौँमा एक्लै थियो र बिस्तारै मेरो भर पर्न थालेको बेला मैले एक्लै छोदिदिएँ । म पापी हुँ ।

त्यतिबेला मैले याद गरें- केहि समय पहिले उसलाई मैले दिएको रे-ब्यान मेरो टेबलमै छोडेछ गएछ- झापड ।

****************

(यो, सायद, किशोर कथाको अन्तिम लेखाई हो । सायद । करिब ४ बर्ष पहिले जुन मानसिक र भावानात्मक रुपमा च्यापिएको अवस्थामा मैले किशोर कथा लेख्न सुरु गरेको थिएँ आज घुमिफिरी म त्यहि अवस्थामा छु । त्यो बिच धेरै कुराहरु फेरीए । म एक्लो महशुस गर्दा किशोरलाई भेट्न जान्थे- किबोर्डहरुमा र एउटा कथा जन्मिन्थ्यो । म ठ्याक्कै त्यहि अवस्थामा छु तर पनि परिस्थितिहरु एकदमै भिन्न । किशोर जुन परिस्थितिको छायाँ थियो त्यो मसँग अब रहेन, त्यसैले किशोरलाई मैले एक्लै छाड्दैछु, र किशोरले मलाई ।)

सुनिल नेपाल
July 18, 2015

लखनलाल ठाकुर – भित्री शहर

म प्राय: नयाँ मानिससँग हत्तपत्त खुलेर बोल्न सक्दिन । घुलमिल हुन असाध्यै धेरै समय लाग्छ र हुलमूलमा त झन् रमाउनै सक्दिन । तर केहि ठाउँ/अवस्थाहरु छन् जहाँ अपरिचित मानिसहरुसँग पनि खुलेर कुरा गर्न रमाइलो लाग्छ । त्यस्तै ठाउँमध्ये एक हो कपाल काट्ने सैलुन । अरुबेलामा त चुपचापै बस्छु तर यदि पसलमा ग्राहक आफू एक्लै छु भने कपाल काटिदिने दाई/भाईसँग दु:खसुखका कुरा गर्न रुचाउँछु ।

आज नियमित जाने सैलुन बन्द रहेछ । नयाँ मान्छेसँग घुलमिल हुन नसकेजस्तै यस्ता सधैँ गइरहनुपर्ने स्थानहरु पनि नौलो ठाउँ सकभर जान नपरे हुन्थ्यो जस्तो लाग्छ । अरु बेला भए कपाल नकाटी घर आउथें तर भोलि बाहिर जानुपर्ने भएकोले लामो कपाल छोट्याउनै मन थियो । त्यसैले नजिकैको अर्को पसलमा गएँ । पानी पर्लापर्ला जस्तो, साँझको समय । लौ बर्बाद !  म पुग्दा त पसल बन्द गर्ने तयारी चल्दै पो रहेछ । कपाल सेतै फुलिसकेको उनले पैसा गनेर दाहिने हातले कमिजको देब्रेपट्टि छातीको खल्तीमा हाल्दै टाउको अलिकति र आँखीभुँई अलिधेरै माथि सार्दै इशारामा सोधे -‘किन आएको?’ । मलाई उनको त्यो सोधाईको तरिका फिट्टीक्कै चित्त बुझेन, असहज लाग्यो । तैपनि भनें -“कपाल काट्नुपर्ने” । “पसल बन्द गर्नु लागेको दाई” । उमेरमा मभन्दा झन्डै तेब्बर उनले उल्टो मलाई दाई भने । अब झन् असहज लाग्यो । “अलि अर्जेन्ट थियो, भ्याएसम्म काट्नुपाए हुन्थ्यो” । “खाना पकाउनु पर्ने, ठिकै छ बस्नुस्” उनले नाइँ भन्न सकेनन् ।

यो पसलमा केहि बर्ष पहिले पनि २-३ पटक कपाल कटाएको थिएँ । त्यो बेला कपाल काटिदिने को थिए के याद हुनु ? म कुर्सिमा बसेँ, उनले कपडा घाँटीमा बेरिदिए । ठुस्स गनायो । सधैं जाने ठाउँमा मलाई सकेसम्म सुकिलो कपडा लगाइदिन्थे, नभएपनि कमसेकम यस्तो मैलो त हुने थिएन । यसो हेरें-कैंची र छुरामा पनि रौँ नै रौँ थियो, ‘सफा त गर्नु नि’- मनमनै भनें । म हत्तपत्त यस्तो जायज गुनासो पनि गर्न सक्दिन, ह्या होस् अर्को पटक आउँदिन बरु जस्तो लाग्छ । मलाई टाउको ढल्काउन लगाएर उनले आफ्नो काम सुरु गरे । एकपट्टिको कान खोलिदिसक्दा मैले सोधेँ- “अनि तपाईको घर कता त दाई ?” सधैँ कपाल काट्ने ठाउँको भाईहरु सबै रौतहटका थिए, उनि पनि त्यतैका होलान् भन्ने अनुमान थियो मेरो । दुइ सेकेन्ड जति अड्ड्किए र उनले भने- “उता बिहार” । अनुमान मिलेन । “ए ! अनि घर कताबाट जाने ? बिराटनगर कि बिरगंज?” मलाई साँच्चै थाहा थिएन बिहार कुन बोर्डरबाट गइन्छ, यतिकै अड्कल काटेको थिएँ । “कहिले अस्ति भुइँचालो आउँदा?”- उनले सोधे । “होइन प्राय: घर जाँदा” । “छिटो त ओ बिराटनगरसे हुन्छ, तर पैसा महँगो लिहाल्छ” । “हो र ? कति लिन्छ ?” “बिराटनगरको पन्ध्र सौ, विरगंज पान सौ पोंतीस” । ‘ए’ ! म न त बिराटनगर गएको छु न त विरगंज, गाडी भाडाको मलाई के अड्कल हुनु ?

“त अस्ति भूइंचालो आउँदा पन्ध्र सौ लियो विरगंजको, रिजर्भ गरेर गएथ्यो पन्ध्र गते” । यति कुरा गर्दा मैले उनको बोल्दा हात हल्लाउने बानि थाहा पाइसकेको थिएँ । बोल्न पनि सार्है सुस्तरि बोल्थे, कसैले सुनि पो हाल्ला कि जसरि । कुरा गर्दा उनि चट्ट कपाल काट्न छोड्थे, ऐनामा मलाई हेर्थे र हात हल्लाउँदै बोल्थे । कुरा सुन्न रमाइलै भए पनि त्यो पाराले कहिले कपाल काटिसक्नु र घर पुग्न ? फेरी रेनकोट पनि त बोकेको थिइन, पानी पर्ने चिन्ता । त्यसैले त्यसपछि मैले सकभर दोहोरो कुरा गर्न चाहिन । उनले भने खुब चाहे । “अनि तपाईको घर कुन बोर्डरमा?” खै उनले किन के अड्कलमा मेरो घर बोर्डरमा हो सोधे पत्तो पाइन-“बोर्डरमा होइन मेरो काठमाडौँ नै हो घर” । “दारी पनि काट्ने?” “होइन नकाट्ने” “काट्नुस् न ” । “होइन अस्ति काटेको, लामो भएकै छैन, अर्को हप्ता काट्नुपर्ला” । “काट्नुभए त राम्रो देखिहाल्नेथियो” । मेरो दिमाग खान थाले उनले । किन बेकार कुरा सुरु गरेछु ? “होइन नकाट्ने दाई” ।

“भूइंचालो आउँदा म ओ खाना पकाउँदै थिएँ कोठामा, भागेर ब्यारेक भित्र गिहालें । घर त हजुर यसरि हल्लेको ” । मैले भन्नै नपर्ला यो सबै सुनाउँदै गर्दा उनि ऐनामा मलाई हेर्दै हातले घर हल्लिएको पारा लगाउँदै थिए । भन्नु त मन थियो कि ‘अलि छिटो काटौं न कपाल, आधा घण्टा भैसक्यो आधा कपाल काटी भ्याएको होइन’ तर भनिन । पसल बन्द गरेर खाना पकाउन जाने हतार भएको उनलाई मैले रोकेको थिएँ । उनले जसोतसो कपाल काटीभ्याए । पहिले सधैँ काट्ने भाइलाई पनि यता अलिकति यो मिलाउ र त्यता अलिकति त्यो मिलाउ भन्नुपर्थ्यो कहिले काहिँ । तर उनले मैले चाहेकै जस्तो काटीदिए ठ्याक्कै- सुरुमा अलि छोटो बनाइदिनुस्, तर धेरै छोटो होइन भनेकै भरमा । त्यो बिच ब्यारेकभित्र अरुले पाल पाएको आफुले नपाएको, भोकै बाइपासको सडकमा सुतेको, राति पानी पर्दा पसलको ढोका खुल्लै राखेर भित्रै बसेको, त्यो पसल उनको आफ्नै ज्वाईंको भएको र अनि पन्ध्र गते बस रिजर्भ गरेर घर गएको फेरी पनि बताउन भ्याईसकेका थिए- ऐनामा मलाई हेर्दै, हात हल्लाउँदै ।

मैले सय रुपैंया दिएँ, उनले तिस रुपैंया फिर्ता दिन खोजे । “पर्दैन दाई तपाईं राख्नुस !” उनि मुसुक्क हाँसे, मसँग हात मिलाए । “अनि दाईको नाम के हो नि?” “मेरो? मेरो लखनलाल ठाकुर हजुर” । “ल दाई धन्यवाद” । कुराको दौरान उनले मलाई बताइसकेका थिए कि उनको कोठामा ग्याँस चुलो थिएन ।म घर आएँ, पाकीराखेको भात खान थालेँ । सायद त्यतिबेला भोको पेटमा स्टोभमा दम दिँदै थिए होलान्- लखनलाल ठाकुर !

सुनिल नेपाल
July 6, 2015

ऋतु अनन्त

तर्कनाहरुले छेक्छन् बाटो अचेल
लढाउन खोज्छन् लट्पट्टिएर पाउमा
कमजोर त होइन, थिइन म सायद
तर के हुन्छ र समयसँगै नबदलिने यहाँ ?

बदलिएका प्रत्येक प्रहरहरु अचेल
उभिँदैछन् यादभन्दा अझ अग्लो बनि
सम्झानहरु त त्यति फिका होइनन्
तर के हुन्छ र छालसँगै नबिलाउने यहाँ ?

Sunil Nepal
June 4, 2015

किशोर कथा – the shades

“खै त दाई म ट्राई गरुम” । हुन्छ हुँदैन भन्न त के मैले सोच्न पनि भ्याएको थिइन, मैले लगाइराखेको रेब्यान किशोरले दुई हातले जतनसँग मेरो आँखाबाट झिक्यो । टन्टलापुर घाम लागिरहेको भएपनि अघिसम्म कालो चस्माले गर्दा अलि अँध्यारो देखिएको रहेछ बाहिर, किशोरले चस्मा झिक्दा कसैले अकस्मात आँखामै टर्च बलिदिए जस्तो भो । म एकछिन रन्थनिएं । किशोरसँग रिस उठ्न लागिसकेको थियो, तर खै किन हो उठेन ।

“हार्ली बाईक चाहिँ मान्छे हेरेर कस्टमाइज्ड बनाउँछन् भन्थे क्या दाई, रेब्यानले मेरो फोटो कहाँबाट भेटेछ ?” केटोले भन्न के खोजेको मैले बुझिसकेको थिएँ, अब एकछिनमा ‘मलाई पो क्या सुहायो यो चस्मा दाई’ भन्छ। अस्तिनै त्यसो भनेकै भरमा मेरो अरिजनल इएरफोन पच बनायो दुई महिना । यसपाली फेरी निको चाला छैन यसको । केटो ओल्टाई पल्टाई चस्मा हेर्दै थियो । त्यसैबीच एकदुई ओटा सेल्फी खिच्न पनि भ्यायो । “तपाईको आँखा चाहिँ लास्ट दामी छ क्या दाई, केटिहरु त आँखा हेरेरै फिदा हुन्छ ल कसम” ।

म हाँसेमात्र । धेरैपछी सुन्दा मलाई रमाइलै लाग्दै थियो उसको गफ । सोचेँ, होस् एकछिन के के भन्न भ्याउँदो रैछ सुन्छु । झन्डै दुई महिनापछी जो भेट भएको थियो किशोरसँग। ऊ मलाई फोन गरेर क्याफेमा चिया खान बोलाइराख्थ्यो बारम्बार। तर म अन्तै कतै कफी पिईराखेको हुन्थेँ, क्याफे जान कहिल्यै भ्याइन । उसलाई म कता हराउँछु राम्रै थाहा थियो तर पनि कहिल्यै फोन गर्न छोडेन । बारम्बार आउँछु भनेर अन्तिम समयमा भ्याउँदिन भन्दा कहिल्यै रिसाएको छनक दिएन । र मलाई पनि थाहा थियो, हामी पहिले हरेक साँझ भेट्ने क्याफेमा किशोर धेरै पटक एक्लै चिया खाँदै फर्किएको ।

design: @suyogps
design: @suyogps

“त्यस्तो दामी करोडौंको आँखालाई यस्तो जाबो चस्माले के छोपेर हिड्नुहुन्छ दाई ? म राखिदिन्छु यो बरु जतनसँग”। किशोर फेरी बोल्यो । “हुन त हो है” मैले जिस्किएर उत्तर दिएँ । अलि मोटाएछ केटो । म आफैँ पनि मोटाएकै हो कि भुँडीमात्र लागेको हो कन्फ्युज थिएँ । “मलाई पो क्या सुहायो त यो चस्मा दाई, हेर्नुस् त”। मेरो चस्मा मलाई देखाउँदै आखिर भनेरै छोड्यो उसको ट्रेडमार्क डाईलग । “अँ भन्दै गरन मुला !!” हल्का हाँस्दै बोलें म ।

“ल रञ्जन मलाई सुहाएको हो कि होइन भन्देऊ त दाइलाई”। किशोरले सहमति बटुल्न सोध्ने बित्तिकै मलाई पुलुक्क हेर्यो क्याफेको भाईले। मैले केहि प्रतिकृया दिइन। रञ्जन हाँस्योमात्र। “तिमी ठुलो कुरा नगर भाई चस्मा देउ यता खुरुक्क”। म यो पटक हाँसिन ।

“ल दाई लिनुस्” । ओहो धन्न फिर्ता गर्यो तोरीले । चियाको ग्लास टेबलमा राखेर उतर्फ हात बढाएँ । “ह्या मैले छोड्दिसके”-म अलि झर्किन पुगेछु । सुर्य लाइट पो दिएको रहेछ । हात फिर्ता तान्न कर लाग्यो । ऊ छक्क पर्यो । “हँ साँच्ची ? कैले देखी ? होइन होला ? गफ दिनुभो ।” एकै सासमा सङका र प्रश्न तेर्सायो । “भयो यार डेढ महिना” ।

“हुन त दाईले यता आउनै ठ्याम्मै छोड्दिनु भो, अनि मलाई कसरी थाहा हुनु? झन् दाजुभाई सँगै क्विट गर्ने भनेर कुरा गरेको अस्तिनै ।” एक हातले चस्मा मलाई दिँदै अर्को हातले सुर्य निभाउँन थाल्यो किशोर। मलाई नरमाइलो लाग्यो । हामीले कहिले त्यस्तो बाचा गर्यौंसम्म पनि याद थिएन मलाई । किशोरले फिर्ता गरेको चस्मा समात्ने हिम्मत नै आएन । त्यो उसको गतिलो झापड थियो मलाई । “होइन भाई, त्यो तिमीलाई नै सुहाउँछ । तिम्रो फोटो मैले पठाको हो रेब्यानलाई ।” ऊ सहजसँग हास्यो कुनै गुनासो नभएजस्तै, पहिलेजसरी । आज यतिका दिनपछि भेट्दा पनि ऊ सिधै मैले लगाइराखेको चस्मा झिक्न आइपुग्नुले प्रस्ट भन्थ्यो, भेट नभएपनि उसले कुनै दुरी बढ्न दिएको थिएन । बरु भेट भै’रहने कति टाढिए के हिसाब ?

Sunil Nepal
July 31, 2014